पोखरामा केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने
कास्की । पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यही मङ्सिर ७ गते सुरु हुने उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा ३ विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल प्रहरी क्लबको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसै गरि युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिनुभयो । एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढी युवा खेलाडीहरूबाट छनौट गरि दुई टिम बनाएको हो ।
खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।
मङ्सिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरू सञ्चालन हुने संयोजक गौचनले बताउनुभयो । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोबिच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरूको सहभागिता हुने एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । यसै गरि हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ । प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च हुने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्