तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक संस्कृतिको जगेर्नामा जोड

पोखरा । गण्डकी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीका वक्ताहरूले मौलिक संस्कृतिको जगेर्ना अपरिहार्य भएकामा जोड दिएका छन् । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रद्वारा आज आयोजित कार्यक्रममा उहाँहरूले स्वदेशी संस्कृतिको संवर्द्धनमा लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको स्थानीय संयोजन एवम् पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पश्चिमा संस्कृतिको प्रभावमा हाम्रा प्राचीन मौलिक संस्कृतिहरू सङ्कटमा पर्दै गएको बताउँदै वक्ताहरूले संस्कार र संस्कृति हराउँदा मौलिक पहिचान हराउँदै गएको बताएका हुन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले हाम्रा संस्कार तथा संस्कृतिहरू पाश्चात्य प्रभावका कारण सङ्कटमा पर्दै गएको बताउँदै मौलिकताको जगेर्नाका लागि यसको संरक्षणमा लाग्नु अपरिहार्य भएको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्राडा भीमप्रसाद खतिवडाले समाज सांस्कृतिक सन्तुलनले बाँधिएको बताउँदै संस्कृतिको संरक्षणले हाम्रो पहिचान जोगिने बताउनुभयो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले हाम्रा भाषा, संस्कृतिलाई मार्ने अधिकार कोही कसैसँग नभएको बताउनुभयो । कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएको बताउँदै उहाँले यसको संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नु आवश्यक भएको बताउनुभयो ।

संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा जर्मन चौधरीले केन्द्रमार्फत बहुभाषिक, बहुसांस्कृतिक विषयको अध्ययन तथा अनुसन्धानलाई जोड दिइने बताउनुभयो ।

प्राडा माधव पोख्रेलले हाम्रा संस्कार तथा संस्कृतिहरू युवा पुस्तामा हस्तान्तरण हुन नसकेको बताउँदै तिनीहरूलाई जीवन्त राख्न युवापुस्तामा हस्तान्तरण हुनु आवश्यक भएकामा जोड दिनुभयो । मातृभाषा, लोक विद्या हाम्रो मौलिक पहिचान भएको बताउँदै उहाँले यसको जगेर्नाका लागि लाग्नु जरुरी रहेको बताउनुभयो ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, साहित्यकार असफल गौतम, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल लगायतले संस्कार र संस्कृतिको जगेर्नाबाट हाम्रा मौलिकता एवम् पहिचानको जगेर्ना हुनेमा जोड दिनुभयो । सङ्गोष्ठीमा विभिन्न ६ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button