तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सामूहिक रुपमा धुमधामका साथ छठ पर्व मनाइयो (फोटोफिचर)

पोखरा । प्राय: गरी तराई, मधेशमा मनाइने छठ पर्व पछिल्लो समयमा पहाडिमूलका केही व्यक्तिहरूले समेत यस पर्वलाई मनाउन थालेको पाइन्छ । पोखरामा विगत दुई दशक भन्दा लामो समयदेखि व्यवस्थित ढंगले छठ पर्व मनाउन थालेसँगै यसको प्रभावले गर्दा पछिल्लो सममा तराई, मधेशका मूलवासीसँगै पहाडी भेगका केही व्यक्तिहरू ले समेत यस पर्वलाई मनाउन थाल्नु भएको छ । 

पोखरामा पछिल्ला केही बर्ष देखि मधेसी, तराइ मूलका व्यक्तिसँगै  केही पहाडी मूलका मानिसहरूले समेत छठ पर्व मनाउन थालेको एन बी व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष भूनेश कुमार गुप्ताले बताउनु भयो । उहाँका अनुसार गत बर्ष पहाडी मूलका १० जनाले केदारेश्वर महादेवमणि मन्दिर परिसरमा रहेको छठ घाट(फेवाताल किनारा) मा छठ पर्व मनाए पनि यस बर्ष २५ जना पहाडी मूलका व्यक्तिहरूले छठ पर्व मनाएको दाबी गर्नु भएको छ । सूर्य भगवानको पूजा आजा हुने जसको पूजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ यस पर्वमा पहाडी भेगका महिलाहरूको आकर्षण बढ्दो रुपमा रहेको नारायणथान मन्दिरस्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनु भयो । 

पोखरा राष्ट्र बैङ्क चोक निवासी गंगा कुमारी कुँवर थापाले यस बर्ष तराई तथा मधेशी मूलका व्यक्तिहरूसँगै बसेर पोखरामा छठ पर्व धूमधामसँग मनाउनु भएको छ । उहाँसँगै पोखरा पामेकी प्रियादेवि पराजुली, पोखरा चाउथेकी बन्दना श्रेष्ठ लगायतले यस बर्ष छठ पर्वको विधि पूर्वक व्रत बसी पोखरामा धुमधामका साथ छठ पर्व मनाएको बताउनु हुन्छ । 

कोभिड पछि छठ पर्व मनाउन छाडे पनि यस वर्षबाट थापाले पुनः छठ पर्व मनाउन थाल्नु भएको हो भने आइतबार व्रत बसी सोमबार सूर्यलाई अर्घ दिन बिहानै ३ः०० बजे पोखराको केदारेश्वर महादेव मणि मन्दिर परिसर छठ घाट क्षेत्रमा पूजा गर्न आएको उहाँले हामीलाई जानकारी गराउनु भयो । 

यसैबिच, पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ पर्व मनाइएको छठ पूजा समितिहरूले जनाएका छन्। सूर्यका भक्तहरूले आज(सोमबार) उदाउँदो सूर्यलाई अर्घ सहितको प्रसाद चढाएसँगै यस वर्षको छठ पर्वलाई बिदाइ गर्नू भएको हो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ सहितको मिष्टान्न खाद्य पदार्थ सहितको फलफूल चढाउनु भएको थियो । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पूजा धुमधामका साथ मनाइएको हो । 

केदारेश्वर महादेवमणि क्षेत्रमा आइतबार धुमधामका साथ छठ पर्व मनाइएको एन.बी.व्यवसायी छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनु भयो । त्यसै गरी विगत दुई दशक भन्दा लामो समय देखि तराई मूलका नेपालीहरूले पोखराका विभिन्न ठाउँमा छठ पूजा मनाउन थाल्नु भएसँगै तराई तथा मधेशमा गएर छठ पर्व मनाउनेहरूलाई यही रोकेको सूर्यका भक्तहरूले बताउनु हुन्छ । विगत ८ बर्ष देखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाँट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ छठ पर्व मनाउँदै आएको हरिश्चन्द्र प्रसाद कुशवाहाले बताउनु भयो । 

छठ पर्वको पूजामा आगन्तुकहरूलाई सोमबार उदाउँदो सूर्यलाई अर्घ दिए पछि ठेकुवा सहितको प्रसाद समेत वितरण गरिएको थियो । छठका भक्तहरूले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफूलका वोटहरु सजावट गर्ने गर्नु हुन्छ । सूर्यलाई भगवानको प्रतिको रुपमा पूजा गर्ने भक्तहरूले आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वासका साथ उहाँहरू पूजा आज गर्न गर्नु हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button