उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
झापा । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान झापासहित तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।
यसैबीच दमकमा अघिल्ला वर्षझैँ यसवर्ष पनि भव्य रूपले छठ पूजा सम्पन्न गरिएको आयोजक संस्था मैथिली सेवा समितिका अध्यक्ष कृष्ण साहले बताउनुभएको छ । छठ पूजाका लागि रतुवा नदी घाटमा करिब ३ सय पूजास्थल तयार गरिएको थियो ।
छठ पर्वलाई सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्