तपाईँ सुन्दै हुनुहुन्छः

ओझेलमा चंखेली हिमाल

मुगु । मुगुको सदरमुकाम  गमगढी बजारबाट उत्तर पश्चिम दिशातिर पर्ने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ मा रहेको चंखेली हिमालको ऐतिहासिक महत्त्व रहेपनि प्रचार प्रसार अभावले ओझेलमा परेको छ ।

मङ्सिर महिनादेखि जेठ महिनासम्म उक्त हिमाल हिउँले गमक्क ढाकिने गर्दछ भने  आषाढदेखि भदौ महिनाको अन्तिम सम्म हरियाली घाँस, बुकीका साथै सयौँ रंगिबिरंगी फुलले सजिने गरेको पाइन्छ ।  बाँकी  असोज र कार्तिक गरि दुई महिनामा उजाड देखिने विशेषता भएको  यस  चंखेली हिमाल समुद्री सतह देखि ४ हजार ५०० मिटर उचाइमा अवस्थित रहेको छ ।

स्व. राजा वीरेन्द्र वीर विक्रम शाह २०४० सालमा भ्रमणका क्रममा  हालको  वडा नं १४ बाम पुगेका थिए । तत्कालीन स्वर्गीय राजा वीरेन्द्र लगायत राजपरिवारले नजिकबाट चंखेली हिमाल अवलोकन गरेको बाम गाउँका  स्थानीय बुढापाका बताउँछन् । तत्कालीन स्वर्गीय राजा  बाम बास बसेर  नजिक बाटै चंखेली हिमालको महत्त्व बुझेकै कारणले  नेपाली  एक रुपैयाँको नोटमा चंखेली हिमालको फोटो समावेश गर्नु भएको स्थानीयको भनाई छ ।  बाम गाउँ  चंखेली हिमालको आधार क्षेत्र हो । चंखेली हिमाल आरोहण गर्नको लागि  बाम गाउँ भएर नै जानू पर्ने हुन्छ । 

समय सापेक्ष एक रुपैयाँको नोट चलन चल्तीमा आउन कम भएपछि अहिले एक रुपैयाँको नोट नै देखिन छाडेका छन् । नोटसँगै चंखेली हिमालको चर्चा पनि कम हुन थालेको हो । विशेषगरी चंखेली हिमालको टुप्पोबाट राराताल, चुचेमार, मिली  चौर सोरू गाउँपालिकाका केही बस्तीहरू, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही बस्ती हरूको  दृष्या अवलोकन समेत  गर्न सकिन्छ ।

सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घण्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घन्टा पैदलयात्रा गरेर हिमालको चुचुरोमा पुग्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको   चासो बढेको पाइन्छ । मुगु आउने कर्मचारी लगायत राराका आएका  केही फाटफुट पर्यटकहरू आफ्नो भ्रमण अवधि लम्ब्याएर चंखेली हिमाल समेत  आरोहण गर्ने गरेको पाइन्छ ।   विगतमा चंखेली हिमालको चर्चा र परिचर्चा हुने गरेको भएपनि  आजकाल चंखेलीको चर्चा परिचर्चा सुनसान जस्तै बनेको  छ ।

हिमालको टुप्पोबाट देखिने विभिन्न  प्राकृतिक  एवं ऐतिहासिक मनोरम दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य स्थान बनाउन सकेको खण्डमा स्थानीयको आर्थिक  समृद्धिमा सुधार  आउने  मुगुका युवा पर्यटन व्यवसायी बिरेन्द्रबहादुर मल्लले  बताउनुभयो । हिमालको फेदमा होटल व्यवसाय गर्दै आएका होटेल व्यवसायीहरूले विगतका बर्ष  भन्दा यस पाली चंखेली घुम्न आउनेको पर्यटकको सङ्ख्या कम भएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button