तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालकसहित दुई जनाको मृत्यु 

रुपन्देही । रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक  माधवलाल देवकोटासहित दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा रहेका देवकोटासँगै रहेकी तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको  प्रहरीले जनाएको छ । शंकरनगरबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका उनीहरूलाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको र दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताए ।

लु ४९ प २२३० नम्बरको मोटरसाइकलमा उनीहरू  तिलोत्तमा उद्योग वाणिज्य सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदा ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक थिए ।

विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकार हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button