जलवायु परिवर्तनको असरलाई अन्तर्राष्ट्रियकरण गरिन्छ : प्रधानमन्त्री
रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियकरण गरिने बताउनुभएको छ ।
रुकुमपूर्वको मैकोटमा आयोजित जनसभामा उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्ट रुपमा आफ्ना कुरा राखिने बताउनुभयो ।
जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कम मात्रै रकम पाएकाले त्यसमा उल्लेख्य रुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटक पटक अनुरोध गरेको स्पष्ट पार्नुभयो ।
आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्ताबेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारको तर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पार्नुभयो ।
क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उहाँको कथन छ ।
नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र सोही सङ्कल्पका आधारमा काम सुरु भएको बताउनुभयो । तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटर ब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिनुभयो ।
यस्तै, नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो । विदेशमा गएका लाखौँ नेपाली युवाको हक अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।
समाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही तथ्यसमेत पेस गर्नुभयो । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताउनुभयो ।
फरक एक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा जनताका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्