तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पनि धुमधामका साथ छठ मनाउने तयारी

पोखरा । पर्यटकीय नगरी पोखरामा पनि यस वर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ ।

पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ पूजा गरी मनाउने तयारी गरिएको विभिन्न छठ पूजा समितिले जनाएका छन् ।

पोखरा नदीपुरको नारायण थान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेती नदी किनारामा छठ पूजा धुमधामका साथ मनाउन केही दिन देखि सरसफाई गरी हाल सजिसजावट सहित टेन्ट समेत हालिएको छ ।

सूर्यका भक्तहरूलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढङ्गबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यवस्थापनमा जुटेको नारायण थान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताउनुभयो । उहाँका अनुसार यस बर्ष पोखरा क्षेत्रमै धुमधामका साथ छठ पर्व मनाउन आन्तरिक तयारी गरी शुक्रबारदेखि रंगरोगन गरी झिलिमिली बत्ती समेत जडान गरिएको छ । कम्तीमा पनि ५ सय जनालाई पूजा आज गर्न मिल्ने गरी आन्तरिक व्यवस्थापनमा आफूहरू जुटेको उहाँको भनाई छ ।

केदारेश्वर महादेवमणि क्षेत्रमा बुधबार देखि सरसफाई गर्न सुरु गरिएको एन.बी.व्यवसायी छठ पूजा समितिका अध्यक्ष विश्राम कुशवाहाले बताउनुभयो । सरसफाइसँगै छठ पूजा स्थलमा रंगरोगन सहित झकिझकाउ पारिएको उहाँले जनाउनुभयो । त्यसै गरी विगत दुई दशक भन्दा लामो समयदेखि तराई मूलका नेपालीहरूले पोखराका विभिन्न ठाउँमा छठ पूजा मनाउन थालिएको हो । पोखरामा पछिल्ला वर्षदेखि मधेशी, तराई तथा केही पहाडी मूलका मानिसहरूले समेत छठ पर्व मनाउन थालेको एन बी व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष भूनेश कुमारले बताउनुभयो ।

विगत ८ वर्षदेखि सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाँट वैकुण्ठ त्रिवेणी धाम (कालिखोला) मा पनि धुमधामका साथ छठ पर्व मनाउँदै आएको हरिश्चन्द्र प्रसाद कुशवाहाले बताउनुभयो । छठ पूजा समिति कालिखोलाका अध्यक्ष समेत रहनुभएका कुशवाहाले करिब एक सय जना सूर्यका भक्तहरूलाई पूजाआजा गर्ने गरी सजिसजावट गरिएको बताउनुभयो ।

यस वर्षको छठ पर्वको मुख्य दिन (षष्ठी) आइतबार मङ्सिर ३ गते परेको छ । यसपाली सष्ठी तथा सप्तमी मङ्सिर ३ गते परेको छ । सूर्यका भक्तहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने भएका छन् । सष्ठीमा अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ भने विभिन्न फलफूल, कन्दमूल, ठेकुवा, कसार लगायतका सामाग्रीको साथमा सूर्यका भक्तहरूले पूजा गर्ने गर्दछन् ।

छठ पूजाको चतुर्थी (शुक्रबार) का दिन नुहाउने र चोखो खाने गरेका सूर्यका भक्तले आज (शनिबार) पञ्चमीमा दिनभर व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने प्रचलन रहेको छ । आइतबार दिनभरि कोहीले त पानी समेत नखाई व्रत बस्ने गर्दछन् । भोलिपल्ट सोमबार बिहान सूर्यलाई अर्घ दिएपछि मात्र खाना खाने प्रचलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button