तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पनि राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाउन सुरु 

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम गरी यस वर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० मनाउन सुरु गरेको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० को मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन सुरु भएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । 

उहाँका अनुसार आज(शुक्रबार) पहिलो दिन पहिलो करदाता नल बहादुर गुरुङलाई आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको छ । करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख कर अधिकृत शर्माले कर कानूनको पालना गरी राजस्व सङ्कलनमा योगदान गर्नु हुने करदाता प्रति आभार व्यक्त गर्नुभयो। । उहाँले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।  

कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा  करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुने भएको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत यहीँ मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ । 

कार्यालयले पोखरा उद्योग वाणिज्य सङ्घसँग मंसिर ४ गते, लेखनाथ उद्योग वाणिज्य सङ्घसँग मंसिर ५ र रेवान पोखरासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यस बर्ष कर दिवसको अवसरमा छठ पर्व सहितको सार्वजनिक बिदा धेरै दिन भएकोले अघिल्ला वर्षको जस्तो धेरै कार्यक्रमहरू भने नभएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button