तपाईँ सुन्दै हुनुहुन्छः

माटोको दीयो  बनाउन भ्याइनभ्याइ भक्तपुरका कुमाले

भक्तपुर I यतिखेर बजारमा झिलिमिलीको पर्व तिहारको किनमेल गर्नेको भिडभाड छ तर  भक्तपुर कुमाले टोलका शिवप्रसाद प्रजापतिलाई भने भट्टीमा पोलेको माटोको दियो झिक्न भ्याइनभ्याइ छ ।

उहाँलाई बनेपाबाट अर्डर आएको ५ हजार दियो तिहार अगावै ढुवानी गरिदिनुछ । यसपालि मात्रै २० लाख भन्दा बढी माटोको दियो बनाएर विक्री गर्नुभएका शिवप्रसादलाई तिहार अगाडि एक लाख ५० हजार दियो अझै बनाउनुछ ।

बस्ती बढेर जग्गा ल्पटिंग हुन थालेपछि दीयोलगायतका भाडा बनाउने माटो जुटाउन भने अलि गारो हुनेरहेछ । शिवप्रसादलाई मात्रै होइन कुमाले टोलका १ सय ६० परिवारले पुस्तौपुस्तादेखि गर्दै आएको माटोको भाडा बनाउने सिप जोगाउन माटोकै कारण अप्ठेरो परेको छ । भक्तपुरमा कालोमाटो रहेको खानीमा घर बनेपछि साखुबाट माटो ल्याउनुपर्दा समस्या हुने गरेको बताउनुहुन्छ शिवप्रसाद ।  

बिशेषगरी भक्तपुर नगरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर अर्थात् कुमाले टोल र मध्यपुर थिमि नगरको नगदेश, बोडे, चपाचोगायतका स्थानका प्रजापति समुदाय यस्ता भाँडा बनाउने गर्दछन्  । पितापुर्खादेखि चल्दै आएको माटोको भाडा बनाउने सिप उनैका माध्यमबाट देशका विभिन्न भागमा पुग्छन्  । एक जनाले तिहारको समयमा पाला बनाएर ५० देखि ६० हजार रुपैयाँसम्म कमाउन सक्छन् ।

पितापुर्खादेखि चल्दै आएको माटोका भाडा बनाउने पेशालाई निरन्तरता दिन प्रजापति परिवार लागि परेको छ । तिनैमध्येका एक हुन् कुमाले टोलकै विनोद प्रजापति । यथलेक्टिस खेलाडीसमेत रहनुभएका उहाँ  सिक्न चाहनेलाई माटाका भाडा बनाउन सिकाउनु पनि हुँदोरहेछ । यहाँ माटोका भाडा बनाउन सिक्न विभिन्न ठाउँबाट मान्छेहरू आउँछन् । कसैले एक दिनमै सिक्छन् भने कसैलाई एक हप्तासम्म पनि लाग्ने गर्छ । यहाँ सिकेर जानेहरू सन्तुष्ट रहेको विनोद प्रजापतिको भनाइ छ ।

रेसादार कालोमाटोलाई मुछेर मेसिनको प्रयोग गरी बनाइने दियो लगायतका भाडालाई भट्टीमा रातभरि पोलिन्छ । भोलिपल्ट भट्टीबाट निकाले पछि मात्रै बजारमा पठाइन्छ । कुमालेले बनाएका माटोको दियो एउटाको २ रुपैयाँ पर्छ । तामाको दीयोभन्दा सस्तो हुने हुँदा लक्ष्मी पुजाका दिन बाल्न माटोकै दीयोको माग बढी आउने गर्छ । हुन त माटोको दियो मात्रै होइन धुपौरो, खुत्रुक्के, कलश, गाग्रीलगायतका थुप्रै भाँडाकुँडा उत्पादन हुने कुमाले टोलमै भक्तपुर नगरपालिकाको ४ नम्बर वडा कार्यालय पनि छ । वडाध्यक्ष उपेन्द्र सुवाल कुमालेहरूका लागि माटोको सहज व्यवस्था गर्ने विषयमा आफूहरूले छलफल गरिरहेको  बताउनुहुन्छ ।  

काँचो माटोलाई आकार दिएर सिप बेच्दै आएका कुमालेहरू माटोका भाडा मात्रै बनाउँदैनन् आफ्नो मौलिक परम्परा जोगाउन सिपमा कला पनि भरिरहेका हुन्छन् । तिनका सिपलाई जोगाउन स्थानीय सरकारले पहल गरिदिन सके भावी पुस्ताले पनि यसको अनुभव गर्न सक्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button