धार्मिक तनाव बढेपछि नेपालगन्जमा ‘सद्भाव र्याली’ निकालियो
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा आज सद्भाव र्याली निकालिएको छ । नेपालगञ्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगञ्जमा बिहान सद्भाव र्याली निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरे अनुसार सद्भाव र्याली निकालिएको हो ।
सद्भाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको सद्भाव र्यालीमा राजनीतिक दल, धर्मगुरु, नागरिक समाज एवम् नागरिकहरूको सहभागिता थियो ।
नेपालगञ्जको बिपी चौकबाट निस्किएको र्याली धम्बोझी पुगेर समापन भएको थियो । नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्याली निकालिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायवीच कुनै किसिमको द्वेष नरहेको सन्देश दिन सद्भाव र्याली निकालिएको प्रजिअ आचार्यको भनाई छ ।
सामाजिक सञ्जालमा आफ्नो धर्म र आस्थामा आघात पुग्ने गरी टिप्पणी गरिएको भन्दै नेपालगञ्जमा आइतबार मुस्लिम युवाहरूले प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासनले उच्छृङ्खल गतिविधि हुने सम्भावनालाई मध्यनजर गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । मुस्लिम समुदायले प्रदर्शन गरेपछि हिन्दु समुदायले पनि आज नेपालगञ्जमा प्रदर्शनको तयारी गरेपछि सद्भाव र्याली निकाल्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्