तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा सद्‌भाव र्‍याली निकालिने

बाँके ।नेपालगन्जमा विभिन्न धर्मका समुदाय बिच मङ्गलवार सद्‌भाव  र्‍याली निकालिने भएको छ । केही दिन यता सामाजिक सद्‌भावमा समस्या देखिन थालेपछि सो र्‍याली निकालिने भएको हो ।

सोमबार जिल्ला कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सद्‌भाव  र्‍याली आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

सद्‌भाव समितिको सहकार्यमा  जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गर्न लागेको सद्भाव र्‍यालीमा सम्पूर्ण नेपालगञ्जवासीसहित सम्पुर्ण धर्मावलम्बीहरु, नागरिक समाजका अगुवाहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।

नेपालगञ्जको बिपी चौकबाट मङ्गलवार बिहान ७ बजे निस्किने र्‍यालीले नगरको परिक्रममा गर्ने बताइएको छ । नेपालगञ्जमा धार्मिक र सामाजिक सद्‌भाव कायम राख्न र्‍याली आयोजना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त “सद्‌भाव र्‍याली” निकालिन लागिएको प्रजिअ आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्वपक्षीय बैठकमा नेपालगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्‍याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, जुलुस, प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button