तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा । पोखरामा आउँदो मङ्सिर पहिलो साता केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । नेकपा एमाले निकटको संस्था मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा आउँदो मङ्सिर ७ गते देखि १६ गते सम्म पोखरा रङ्गशालाको क्रिकेट मैदानमा उक्त प्रतियोगिता हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा प्रदेशका सात टिम, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको १ टिम गरि ११ टिमको सहभागिता हुने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई पाँच लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा दोस्रो हुनेलाई दुई लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा म्यान अफ द सिरिजले नगद तीस हजार, बेस्ट बलरले नगद बीस हजार र म्यान अफ द म्याचले नगद पाँच हजार रुपैयाँ प्रदान गरिने भएको अध्यक्ष आचार्यले जनाउनु भयो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च लाग्ने एकेडेमीले जनाएको छ । सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ अर्थात् १ जनवरी २०१० मा मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको संस्थापक उपाध्यक्ष मोहन रेग्मीले बताउनु भयो । एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको उहाँको भनाई छ ।

संघीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमीहरू लाभान्वित भएको एकेडेमीको दाबी छ । एकेडेमीका संरक्षक पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट उक्त प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष आचार्यले बताउनु भयो । पोखरामा हुने उक्त प्रतियोगितामा नयाँ खेलाडीहरूले समेत अवसर प्राप्त गर्ने बताउँदै क्रिकेट विभाग प्रमुख पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले बताउनु भयो । आफूहरूले यू-१९ का खेलाडीहरूलाई बढी प्रोत्साहन गर्न खोजेको बताउँदै उहाँले एकेडेमीको सबै क्षेत्रका खेलाडीहरू समेटेर बलियो टिम बनाउने बताउनु भयो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा हाल मैदान मर्मत संहारको काम गर्न सुरु भएको एकेडेमी गण्डकी इन्चार्ज राजेश कुमार गुरुङले बताउनु भयो । पोखरामा यस्ता खेल गतिविधिले पोखरा क्षेत्रको खेल पर्यटनको विकास हुने उहाँले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button