तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतन्त्रलाई बलियो बनाउन सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक पर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा सूचनामा विश्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘अनलाइन स्पेस र सूचनाको हक : अवसर र चुनौती’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री शर्माले जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउन सूचनाको हकलाई जनस्तर सम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकार सुशासन र सामाजिक न्यायको पक्षमा रहेको भन्नुहुँदै सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि सरकार दृढ रहेको बताउनुभयो ।

मन्त्री शर्माले अनलाइनबाट सार्वजनिक सूचना उपलब्ध गराउन अनलाइन स्पेसको विकास गर्दै सूचनाको सुरक्षित भण्डारण र वितरण प्रणालीलाई मजबुत बनाउनुपर्ने बताउनुभयो।

उहाँले सूचनाको हकले पारदर्शिता कायम गर्न मद्दत पुग्ने भन्दै सूचना लुकाउने कार्यलाई निरुत्साहित गर्न सूचना लुकाउनेलाई कारबाही गर्ने गरि कानूनी दायरा बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले नागरिक सचेत हुँदा सार्वजनिक निकायलाई जबाफदेही र पारदर्शी बनाउन सकिने भन्नुहुँदै सूचनाको हकलाई अभियानका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई समावेशी बनाउनु आजको आवश्यकता भएको भन्दै यसका लागि महिला, युवा,अल्पसङ्ख्यक लगायतलाई सूचनाको हकबारे सचेतनामुलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा डिजिटल राइटस् नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button