तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा मुस्लिम समुदायले मनाए मोहम्मद डे

बीरगंज । आपसी सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकतालाई जोड्दै राष्ट्रिय गानसँगै वीरगन्जमा मुस्लिम समुदायले ‘मोहम्मद डे’ मनाएका छन् । मुस्लिम समुदायको धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा ‘मोहम्मद डे’ मनाइएको हो ।

मुस्लिम समुदायले राष्ट्रिय गान सहित कार्यक्रम शुभारम्भ गरी वीरगन्जको इनर्वा, छपकैयाँ, नगवा, लाठगल्ली, मुर्लीचोक, श्रीपुर, गहवाबाट निस्किएको जुलुस घण्टाघरमा एकिकृत भई समापन भएको थियो ।

राष्ट्रिय एकताका लागि नेपालको राष्ट्रिय झण्डा सहित इस्लाम धर्मको झण्डा बोकेका मुस्लिम समुदायले यस पटक मोहम्मद डे लाई आपसी सद्भाव र धार्मिक स्वतन्त्रता र राष्ट्रिय अखण्डता र भाइचारा कायम गर्दै मनाउँदा सबै वर्ग र समुदायबिच आपसी सम्बन्ध प्रगाढ हुने भन्दै सोही अनुरुप मनाएका हुन ।

विगत केही समय यता मधेशका पर्सा, सर्लाही लगायतका जिल्लामा धर्मको नाममा केही उच्छृङ्खल व्यक्तिहरूले समाजलाई विखण्डन ल्याउन खोजेको भन्दै नेपालीहरू बिचको आपसी सद्भावलाई कुनै शक्तिले फुटाउन नसक्ने मुस्लिम धर्मका अगुवाहरूले बताएका छन् ।

मधेश प्रदेश सरकारले ‘मोहम्मद डे’ मनाउन आज सार्वजनिक बिदा समेत दिएको छ । मधेश प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेशभरि बिदा दिने निर्णय गरेको थियो ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा मोहम्मद डे मनाइँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button