जनकपुरधाममा मापदण्ड विपरितको मासु पसल कारबाहीमा
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको माछा, मासु तथा डेरी उद्योगहरू मध्ये धेरै मापदण्ड विपरीत सञ्चालन रहेको पाइएकाले कारबाही गरिइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा विभिन्न निकायहरूको सहभागितामा आज भएको अनुगमनको क्रममा गुणस्तरहीन मासुको बिक्री गर्ने दुई वटा पसलबाट २७ किलो मासु नियन्त्रणमा लिएर नष्ट गर्ने काम भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं २, ४ र १४ मा रहेको १४ वटा मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत गुणस्तरहीन मासु बिक्री गरेको पाईकाले जनकपुरधामको हकिम मासु पसलबाट १३ किलो र सफीद मासु पसलबाट १४ किलो मासु नियन्त्रणमा लिएर नष्ट गर्ने काम भएको छ ।
यसका साथै अनुगमन गरिइएको १४ वटा मासु पसल मध्ये ३ वटा दर्ता नभएको पाइएकाले ती पसलका सञ्चालकलाई ७ दिनभित्रमा दर्ता गरेर आवश्यक कागजपत्र लिएर कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक डा. सञ्जीव ठाकुरले जानकारी दिनु भयो ।
यसका साथै अधिकांश मासु पसलले मूल्य सूचि नराखेकाले मूल्य सूचि राख्नका लागि निर्देशन दिइएको छ । यसका साथै अनुगमन टोलीले जनकपुरधामको माँ जानकी डेरीको दूध, दही तथा घ्यु परीक्षणका लागि नमूना सङ्कलन गरेर प्रयोगशालामा पठाइएको छ । जनकपुरधाममा व्यवस्थित माछा, मासु बिक्री गर्ने पसल नभएका कारणले यसले नकारात्मक असर आम उपभोक्तामा परिरहेको छ ।
अनुगमनको क्रममा सरसफाईमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिनुका साथै अर्को पटक अनुगमन गर्न आउँदा सरसफाई नभएको खण्डमा कडा कारबाही हुने निर्देशन दिइएको छ । यसका साथै पशुको वध व्यवस्थित तरिकाले गर्न तथा मासुको बिक्री एवं भण्डारण वैज्ञानिक विधिद्वारा गर्नका लागि निर्देशन दिइएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालय तथा पत्रकारहरूको सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया राख्नुहोस्