महँगी नियन्त्रण गर्न भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल
ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताउनुभयो ।
मन्त्री रिजालले मूल्य नियन्त्रणका लागि इन्डियाको वाणिज्य मन्त्रीसँग पनि धान, चामल र चिनीको विषयमा कुरा गरेको र राजदूतसँग पनि चार/पाँच पटक भेटेर कुरा गरेको बैठकलाई जानकारी गराउनुभयो । उहाँले अनुगमनको काम चलिरहेको बताउँदै पाँच–दश करोडको बदमासी गरे पनि तीन लाखसम्म मात्रै जरिमाना गर्न पाउने व्यवस्था रहेको र धेरै बदमासी गर्नेलाई धेरै जरिमाना गर्न कानुनी अड्चन रहेको बताउनुभयो ।
मन्त्री रिजालले अर्बौँ रुपैयाँ सरकारी लगानी गरेर केही वर्ष अघिसम्म फाइदामा चलेकाहरू अहिले घाटामा रहेको बताउनुभयो । “सरकारले कतिसम्म लगानी गर्ने ? त्यहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने, कुनै अनुशासनका कुरा छैनन्, ट्रेड युनियन र व्यवस्थापन मिल्ने, विना काम कार्यालय सहयोगीले ‘ओटी’समेत गरेर ५०–६० हजार तलब खान्छ”, मन्त्री रिजालले भन्नुभयो । सरकारी लगानीमा चलेका उद्योगहरूलाई प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणामा लैजाने सरकारको योजना रहेको मन्त्री रिजालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्