तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरिएको अवस्थामा पूर्व सशस्त्र प्रहरी अमरेश सिंहको शव फेला

वीरगञ्ज । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्व सशस्त्र प्रहरीको शव भेटिएको छ ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ को नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा आज स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको चोट देखिएको छ । मृतक सिंह पूर्व प्रहरी समेत हुन् । उनी सशस्त्र प्रहरी बलमा पाँच वर्ष कार्यरत रहेका थिए । केही महिना अगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।

स्थानीयहरूका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समय अघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए । प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको क्रममा सिंहको हत्यामा ३ जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button