उच्चस्तरीय छानबिन आयोगको क्षेत्राधिकारबारे नेताहरुबीच छलफल
काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरुबीच सुन तस्करी प्रकरणको छानविन गर्ने उच्चस्तरीय छानबिन आयोगको क्षेत्राधिकार (टिओआर) बारे छलफल भएको छ ।
गृह मन्त्रालयमा आज भएको छलफलमा सत्तारूढ दलहरूको तर्फबाट पेश भएको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत नभएपछि थप छलफलका लागि समय दिइएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सत्तारूढ दलहरूका तर्फबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिसकेको विषय नदोहोरिने गरी आयोगको क्षेत्राधिकार तोक्ने प्रस्ताव पेश गरेको तर नेकपा एमालेका तर्फबाट छलफलमा सहभागी नेताहरूले पार्टी नेतृत्वसँग छलफल गर्न थप समय मागेको काँग्रेसका प्रमुख सचेतक लेखकले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठकमा छानविन आयोगलाई सुन प्रकरणसँग जोडिएका सबै विषयमा छानबिन गर्ने गरी क्षेत्राधिकार तोकिनुपर्ने माग गर्दै आएको छ ।
राज्यका निकायले गरिरहेको छानबिनमाथि समेत प्रश्न उठिरहेको हुनाले बैठकमा आफूहरूले सुन तस्करीका सबै पक्षहरूमा छानबिन गर्न सक्ने क्षेत्राधिकार सहितको आयोग गठन हुनुपर्ने माग राखेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताउनुभयो ।
विद्युतीय चुरोट (भेप) र ब्रेक–शु मार्फत भएको सुन तस्करीमाथि छानबिन हुनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्च स्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो ।
तर कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्