तपाईँ सुन्दै हुनुहुन्छः

४४ औँ विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनि सडक महोत्सव सहित विभिन्न कार्यक्रम हुने

पोखरा । ४४ औँ विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) को अवसरमा पोखरामा मिनि सडक महोत्सव सहित विभिन्न कार्यक्रम हुने भएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा यस वर्षको विश्व पर्यटन दिवसको अवसरमा यही असोज १० गते (२७ सेप्टेम्बर) मा मिनि सडक महोत्सव सहितका विभिन्न कार्यक्रम हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । 

कोभिड १९ बाट प्रभावित भएको पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउने उद्देश्यले पर्यटन दिवसको अवसरमा एक दिने पदयात्रा, वृक्षारोपण, रक्तदान कार्यक्रम, भारतका टुर अपरेटर र सञ्चारकर्मीको साथमा नेपाली टुर अपरेटर तथा पत्रकारहरू बिच अन्तरक्रिया लगायतका कार्यक्रम हुने भएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । असोज १० गते बुधवार गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औँ विश्व पर्यटन दिवस “टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट” भन्ने मुल नाराका साथ मनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

पर्यटन दिवसकै दिनमा नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम हुने भएको छ भने पोखरा स्थित पर्यटकीय संघ संस्थाहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत सम्मान समेत गरिने भएको परिषद्का सचिव हरि भुजेलले बताउनु भयो । 

यसैबिचमा रेवान पोखराको आयोजनामा वाराहीचोक देखी खहरे चोकसम्म बुधबार पर्यटन दिवसको दिनमा साँझ पाँच बजे देखी मिनि सडक महोत्सवको आयोजना हुने भएको परिषद्ले जनाएको छ । महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक समेत प्रदर्शन गरिने भएको छ भने बाजागाजा, झाँकी सहितको र्‍याली प्रदर्शन गर्नुका साथै पर्यटकहरूलाई फुलमालाले स्वागत समेत गरिने भएको परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो । सडकमै खाऊ, सडकमै रमाऊ भन्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले अपेक्षा गरेको छ । पर्यटन दिवसको पूर्व सन्ध्यामा असोज ९ गते टान गण्डकीको आयोजनामा व्यवसायीहरू, पर्यटकहरू र पत्रकारहरू सहितको टोली मार्गी देखि पुम्दीकोट सम्मको एकदिने पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ । 

विश्व पर्यटन दिवस २०२३ को गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यतालिका तय भएको परिषद्ले जनाएको छ । उक्त कार्यक्रममा नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवको सहभागी हुने भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

विश्व पर्यटन दिवसको अवसरमा छिमेकी मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय मिडियाकर्मीहरू समेत पोखरा आउने भएका छन्। भारतबाट आउनु भएका टुर अपरेटर, मिडियाकर्मी र नेपाली मिडियाकर्मी, टुर अपरेटरबीच अन्तरक्रिया समेत हुने भएको हो । 

गण्डकी प्रदेशको उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले प्रदेश सरकारले समग्र प्रदेशको पर्यटन प्रबद्र्धनमा लगानी गर्दै आएको बताउनु भयो । प्रदेशका ११ जिल्लाका पर्यटकीय गन्तव्यहरूको डिपिआर सहित आइइई गरेर यस बर्ष ६ वटा गन्तव्यमा बजेट समेत विनियोजन भएको उहाँले बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button