अरबे साइँलाको कृषिमा मोह
पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीका किसान ख्याम भुजेल (अरबे साइँला) को दैनिकी कृषि कर्ममा बित्ने गर्दछ र कृषि पेशा रमाउँछन् ।
उनलाई भेट्न जाने जो कोहीले पनि उनलाई कृषिमा नै काम गरिरहेको भेट्दछन् । उमेरले ६६ वसन्त पार गरेका उनी घरमा पनातिसम्म पाउँदा पनि काममा त्यति नै लगनशील छन् जुन युवा अवस्थामा थिए ।
वि.सं. २०५७ सालमा अरबबाट आएर जग्गा खरिद गरी स्वदेशमा नै केही गर्न थालेपछि उनलाई सबैले अरबे साइँलाका नामबाट स्थानीयहरू परिचित छन् ।
भुजेलले रोजगारीका सिलसिलामा सात वर्ष साउदीमा बिताए । त्यसपछि नेपाल फर्किएर अब स्वदेशमा नै केही गर्नु पर्छ भन्ने मान्यताले केही जग्गा खरिद गरे । अहिले त्यही जग्गामा आफ्ना घर परिवारको सहयोगमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्। कृषिकै भरमा संयुक्त परिवार पाल्दै आएका अरबे साइँलाका छोरा बुहारी, नाति नातिना एकै परिवारमा बस्छन्, एउटै भान्सामा खान्छन् अनि सबै मिलेर कृषि कर्ममा व्यस्त हुन्छन्।
सङ्घर्षमय जीवन भोग्दै आएका भुजेलले बहुखेती प्रणाली विधिलाई आत्मसाथ गर्दै तरकारी, कुखुरा र माछापालन, बंगुरपालन र मिट सप समेत समेत सञ्चालन गरेका छन् ।
करिब १२ रोपनी क्षेत्रफलमा उनले १५ वटा टनेल निर्माण गरेर गरी गोलभेँडा र धनियाँ खेती गरेका छन् भने करिब दुई हजार कुखुरा समेत पालेका छन्। उनले धान खाने चार रोपनी खेतमा पोखरी निर्माण गरी रुहु, नैनी, ग्रासकार्प र सिल्भर जातका माछा पालन गरेर मनग्य आय आम्दानी गरेको बताउँछन् ।
तरकारीका लागि मल आवश्यक पर्ने भएकाले कुखुरा र पशुपालनमा जोडिएका भुजेललाई उनका तीन भाइ छोरा मध्य जेठा राजेन्द्र भुजेल र माइला विजय भुजेलले हातेमालो गर्दै सघाई रहेका छन् भने कान्छा छोरा विदेशमा रहेका छन्।
संयुक्त परिवार भित्र रमाउँदै आएका भुजेललाई तीन बुहारी, नाती नातीना र श्रीमती विष्णुमाया भुजेलले समेत साथ दिएकोले आफूले सोचे अनुसारकै सफलता हात परेको उनले बताए। काम प्रतिको छोरा बुहारीको लगनशीलताको उनी खुलेर प्रशंसा गर्छन्।
आधुनिक कृषिबाट व्यवसायका लागि नयाँ नयाँ प्रविधि, सीप र ज्ञान आवश्यक पर्ने भएकाले राज्यको तर्फबाट किसान मैत्री काम नभएको गुनासो राख्दै राज्यले किसानको लगानी अनुसार विभिन्न समयमा हुन सक्ने नोक्सान तथा रोगका कारण मर्कामा पर्दा सहयोग र वास्तविक किसानको पहिचान गरी अनुदान दिन सक्ने हो भने दुई पैसा कमाउनका लागि दैनिक रुपमा विदेशिने युवालाई स्वदेशमा नै रोक्न सकिने उनको सुझाव रहेको छ ।
उनले राज्यले बाहिरबाट आउने तरकारीलाई नियन्त्रण गर्नुपर्ने र विषादी रहित तरकारी उत्पादनमा जोड दिनु पर्ने बताएका छन्।
प्रतिक्रिया राख्नुहोस्