वीरगंजमा सर्वदलीय बैठक सम्पन्न, सबैको धर्म, परम्परा, रीतिरिवाजको सम्मान गर्ने
वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वदलीय बैठकले नेपाल सबै वर्ग, समुदाय, धर्म मान्ने बिचको साझा फूलबारी भएका हुँदा आपसी सद्भाव कायम राखेर सबैले सबैको धार्मिक, परम्परा, रीतिरिवाजको सम्मान गर्ने निर्णय गरेको छ ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा सम्पन्न बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहु सांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध संघ संस्थाहरू विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्नु पर्ने कुरामा जोड दिएको छ ।
बैठकले समतामूलक समाजको निर्माणमा अगाडी बढ्ने हाम्रो राष्ट्रको मर्म रहे अनुसार शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली, बन्द जस्ता कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने निर्णय समेत गरेको छ ।
समाजलाई ऐक्यबद्धता बनाउने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्र लगायतका सरोकारवालाले सहयोग गर्ने निर्णय समेत बैठकले गरेको बैठकमा सहभागी वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनु भयो ।
बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्मा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ, नेता शशीकपुर मियाँ, हिन्दुवादी नेता रञ्जित साह, ओमप्रकाश गुप्ता, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ लगायतको सहभागिता थियो । सर्वदलीय बैठकमा जारी सहमति पत्रमा जिल्ला स्थित मुख्य राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्