जनताको अवस्था परिवर्तन अबको मुख्य एजेण्डा हुनुपर्छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था परिवर्तन अबको मुख्य एजेण्डा हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई आज सिंहदरबारमा सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले नागरिकको अवस्था परिवर्तन नहुँदा नैराश्यता बढेको भन्दै जनताले परिवर्तनको महसुस गर्ने गरी काम गर्न सबैको सकारात्मक पहल आवश्यक पर्ने बताउनुभयो ।
मन्त्री शर्माले पत्रकारिता र राजनीति दुवै जोखिमपूर्ण क्षेत्र भएको भन्दै जनताका वास्तविकता सरोकारवाला सम्म पुर्याउन र परिवर्तनलाई संस्थागत गर्न पत्रकारिता अपरिहार्य क्षेत्र भएको बताउनुभयो ।
मन्त्री शर्माले सरकारको मुख पत्रको रुपमा मात्र नभई जनताको आवाज बनेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री शर्माले सञ्चार क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै सञ्चारकर्मीलाई पेशामा टिकाइराख्न सरकारले समयानुकूल कानून निमार्णको कार्यलाई प्राथमिकता दिएको पनि बताउनुभयो ।
समारोहमा यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रुकुम पश्चिमका टेलिभिजन पत्रकार महेश केसी र धादिङका टेलिभिजन पत्रकार शिव सिलवाललाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नगद एक लाख रुपैयाँ सहित पत्रकार द्वय केसी र सिलवाललाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।
पुरस्कार छनोट समितिले परेका आवेदनहरू मध्येबाट कान्तिपुर टेलिभिजनमा कार्यरत केसीको ‘विकासमा पछि परेको रुकुमको सिस्ने गाउँपालिका’ र नेपाल टेलिभिजनका सिलवालको ‘पहिरोका कारण पृथ्वी राजमार्गमा यात्रुहरूले पाएको सास्ती’ शीर्षकको समाचार सामग्रीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कारका लागि विभिन्न सात टेलिभिजन च्यानलहरूबाट प्राप्त कुल ३५ वटा सामग्री सहितका आवेदन मध्येबाट पुरस्कृत छानिएका हुन् ।
विज्ञ आमसञ्चारकर्मी दिलभुषण पाठक र निर्मला आचार्य, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई एवम् प्रतिष्ठान शाखाका अध्यक्ष दीपक जङ्ग हमाल सहितको पुरस्कार छनोट समितिले परेका आवेदनहरू मध्येबाट विजेताको छनोट गरेको हो ।

नेपाल टेलिभिजनका पत्रकार द्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख रुपैंया राशिको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि प्रत्येक वर्ष असोज ७ गते साहसिक पत्रकारिता गर्ने पत्रकारलाई प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्