तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाको हियाखोला गाउँ सञ्चार विहीन

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ६ स्थित हियाखोला गाउँ वर्षौँदेखि सञ्चार विहीन भएको छ । सङ्घीयतापछि पूर्वाधार विकासले गति लिएको हियाखोला गाउँमा अझै सञ्चार सेवा विस्तार हुन सकेको छैन ।  सञ्चार असुविधाका कारण हियाखोलीबासीले सास्ती पाएका छन् । कर्णाली राजमार्ग छेउकै गाउँ भएपनि सञ्चार सेवा नहुँदा दुर्गम गाउँका रुपमा कहलिएको छ । 

स्थानीय सरकार आएपछि हियाखोलामा थुप्रै विकास भयो । तर सञ्चार विकास ओझेलमा पर्‍यो । स्थानीय हर्क कामी भन्छन्,“स्थानीय सरकारले गाउँमा खानेपानी, सडक बत्ती, पुरायो । कृषि, शिक्षा, उद्यमशीलतामा पनि लगानी बढ्यो । सामाजिक चेतना अभिवृद्धि,महिला सशक्तीकरणमा पनि उल्लेखीय विकास भयो । विडम्बना आधारभूत आवश्यकता भित्र पर्ने सञ्चारको विकास हुन सकेन । जसका कारण एक अर्कामा हामी सम्पर्क विहीन हुन बाध्य छौ ।”

गाउँमा सञ्चार सुविधा नहुँदा स्मार्ट फोनको पनि कुनै औचित्य नरहेको स्थानीय लालसिंह कामीले बताउनुभयो । उहाँले भन्नुभयो,“स्मार्ट फोनबाट आफन्तलाई भिडियो कल गर्ने, इन्टरनेट चलाउने त कल्पना छैन । विशुद्ध फोन गर्न पनि डाँडा धाउनु पर्ने बाध्यता छ । अहिले सम्म गाउँमा टेलिफोन टावर निर्माण हुन सकेको छैन ।”

हियाखोला गाउँको पूर्वाधार विकास,उद्यमशीलता र सामाजिक सशक्तीकरणका लागि मोटो रकम लगानी गर्दै आएको स्थानीय सरकार सञ्चार सेवा विस्तार गर्न भने चुकेको देखिन्छ । 

करिब एक सय घरधुरी रहेको हियाखोला गाउँमा दलित समुदायको बाहुल्यता बढी छ । मुलुकमा फोरजी सेवाको विस्तार गई गाउँ गाउँमा फाष्ट फाइबर नेट पुगिसकेको अवस्थामा समेत हियाखोलामा टेलिफोनकै पिरलो हुनु दुखद पक्ष भएको स्थानीय प्रकाश कामी बताउनुहुन्छ । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले थुप्रै सम्भावना र पूर्वाधार विकास भएर पनि सञ्चार असुविधाकै कारण हियाखोला दुर्गम बनेको बताउनुभयो । उहाँले भन्नुभयो,“पालिकामा स्रोत सीमित छ । नागरिकका आवश्यकता असीमित छन् । त्यसैले सबै काम पालिकाबाटै सम्भव छैन । तर हियाखोला गाउँमा सञ्चार सेवा विस्तार गर्न समन्वय  र पहल गरिरहेका छौ ।”

तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले हियाखोलाको विकास पहिलो प्रथामिकतामा रहेको बताउनुभयो । पहिलो कार्यकालमा अन्य क्षेत्रको आधारभूत विकास भइसकेकोले अबको प्राथमिकता सञ्चार सेवा विस्तारमा जोड दिइने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button