बच्चाको हातखुट्टा बाँधेर उखुबारीमा अलपत्र छोडिने महिला पक्राउ
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै बच्चाको हातखुट्टा बाँधेर उखुबारीमा अलपत्र छोड्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
शिशुकी आमा पुनर्वास नगरपालिका–२ अमरैया घर भएकी २७ वर्षीया शर्मिला चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो। पुनर्वास नगरपालिका–२ अमरैया स्थित माइती घरमा बस्दै आएकी शर्मिलाले आफैँले जन्माएको बच्चालाई उखुबारीमा बाँधेर फरार भएकी थिइन्।
उनलाई शनिवार बेलडाँडी गाउँपालिका–३ बैवाहाबाट पक्राउ गरी पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानासहितको रोहवरमा इलाका प्रहरी कार्यालय बेलौरी पुर्याएर मुद्दा चलाइएको प्रहरीले बताएको छ। शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्।
केही समय विवाहित जीवन राम्रो चलेपनि पछि अजयलाई छाडेर उनले बेलौरीकै सुन्दर चौधरीसँग अर्को भागी विवाह गरेकी थिइन्। शर्मिलाबाट जन्मिएको शिशु कसको हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएपछि उनी तेस्रो व्यक्ति बेलडाँडी–३ वैवाहका प्रेम डगौरासँग विवाह गर्न बच्चा छोडेर पुनः भाग्न लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
शुक्रबार उखुबारीमा छोडेको बच्चा र त्यसअघि ६ वर्षको अर्को बच्चा समेत रहेको बुझिएको छ। नौ महिनाको बच्चाका कारण झगडा हुन थालेपछि उनले बच्चालाई छोडेर अर्केसँग विवाह गर्न हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तेस्रो व्यक्तिसँग फेसबुकबाट कुराकारी भई प्रेममा परी उक्त बच्चालाई उखुबारीमा छोडेर बेलडाँडी–३ का अर्कै केटासँग भागेर गएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीले शर्मिलामाथि अनुसन्धान सकेर अहिले उनीबिरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ।
प्रतिक्रिया राख्नुहोस्