राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल शुरु
काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल शुरु भएको छ ।
समितिको आज बसेको बैठकमा विधेयक माथिको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचार विरुद्धको अभियान र भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता अपनाउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।
मन्त्री गुरुङले मुलुकलाई भ्रष्टाचारको दलदलबाट माथि उठाउन र सुशासन कायम गरेर लैजान सबै प्रतिबद्ध भएर लाग्नु आवश्यक रहेको र त्यही अनुरुप विधेयकलाई समृद्ध बनाउनु पर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधेयकको मुख्य उद्देश्य गम्भीरता पूर्वक भ्रष्टाचार उन्मुलन गरौँ भन्ने रहेको बताउनुभयो ।
उहाँले कानुन प्रभावकारी बन्यो र त्यसको कार्यान्वयन भयो भने प्रभावकारी रुपमा काम गर्न सकिने र सुशासन समेत कायम हुने भन्दै प्रभावकारी रुपमा छलफल गरी कानुनलाई समृद्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।
विधेयकमाथि दफावार छलफल गर्नु पूर्व समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
आजै समितिले निमित्त मुख्य सचिव एकनारायण अर्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री कार्यालयको कानुन हेर्ने सचिव लीलादेवी गड्तौला लगायतसँग छलफल गरेको छ ।
यसैबीच, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधि समेत पारित गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्