तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार ग्रामको रेडियो प्रसारण सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

विराटनगर । ताराणिप्रसाद कोइराला स्मृति संंचार ग्राम रेडियो नेपालबाट प्रसारण आरम्भ गरिएको महानगर एफएम विराटनगरको प्रसारण सेवा प्रभावकारी बनाउने विषयमा आज वृहत् छलफल भएको छ ।

सञ्चार ग्राममा आयोजित कार्यक्रममा एफएमबाट प्रसारण भइरहेका र प्रसारण हुन लागेका समाचार, बहस, गीतसङ्गीत जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको सबैभन्दा कान्छो प्रसारणको रुपमा रहेको यो सेवालाई प्रभावकारी र विश्वसनीय बनाउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले यो संस्था हाम्रो भन्ने सोचका साथ श्रोताको मन जित्ने गरी काम गर्न कार्यक्रम सञ्चालकहरूलाई आग्रह गर्नुभयो । ताराणिप्रसाद कोइराला रेडियो नेपालको पहिलो संस्थापक भएकाले उहाँको नाममा स्थापना भएको संस्थामा काम गर्न पाउनु पनि हामी सबैका लागि गौरवको विषय भएको उहाँको भनाई थियो ।

रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले प्रसारण अहिले महानगर एफएमको नामबाट शुरु भए पनि रेडियो नेपालकै प्रसारण सेवा भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चार ग्रामको प्रसारण सेवामा केही कम जनशक्ति भएपनि दक्ष र अनुभवी रहेको आफूले पाएको उहाँले बताउनुभयो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीले यो संस्था हामी सबैको हो भन्ने भावनाका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपाल ताराणि प्रसाद कोइराला स्मृति सञ्चार ग्रामका कार्यालय प्रमुख बलराम चौधरीले प्रसारण सेवालाई प्रभावकारी बनाउन आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

ताराणिप्रसाद कोइराला स्मृति सञ्चार ग्राम महानगर एफएम विराटनगरका कार्यक्रम अधिकृत नयराज नेपालेले यो संस्थालाई अब्बल र धनकुटा प्रसारण सेवासँग प्रतिस्पर्धामा लैजाने गरी काम गर्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यक्रम सञ्चालक मनुका कुँवरले आफ्नो अनुभव सुनाउँदै रेडियोमा अवसर र चुनौती दुवै भएकाले यसलाई डटेर सामना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ कार्यक्रम सहायक बलराम दाहाल, कार्यालयका अधिकृत मनोज गुप्ता, रञ्जित रौनियार, प्रकाश रिजाल तथा ओमप्रकाश यादव लगायतले प्रसारण सेवा तथा कार्ययोजनाबारे सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button