तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा खुला सीमामा कारण दैनिक ६ करोड बढीको अवैध आयात

नेपालगञ्ज । बाँकेमा खुला सीमामा कारण दैनिक ६ करोड बढीको अवैध आयात हुने गरेको पाइएको छ । खुला सीमाको फाइदा उठाउँदै विना भन्सार मालसामान भित्रिने क्रम नरोकिँदा दैनिक ६ करोड बढीको अवैध आयात भइरहेको तथ्याङ्क नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसंग अवैध आयातले नेपालगञ्जको व्यवसाय चौपट भइरहेको भन्दै सीमा नाका व्यवस्थित गर्न ध्यानाकर्षण गराएको छ । सङ्घले १ सय रुपैयाँ भन्दा बढीको सामान आयात गर्दा भन्सार महसूल तिर्नुपर्ने नियमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न माग गरेको छ ।

जमुनाहा नाकाबाट अवैधरुपमा करोडौँको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग उद्योगी व्यवसायीहरूले गरेका छन् । पटक पटक विद्युत् जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरू बिग्रने समस्या धेरै भएकाले उद्योगहरूमा नियमित रुपमा सहज आपूर्ति गर्न व्यवस्था गर्न तथा उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैङ्क ब्याज उपलब्ध गराउन माग गरिएको छ ।

शिलान्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ । उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगञ्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडीबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतको सरकारस्तरमा संवाद गर्नुपर्ने माग व्यवसायीका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button