दाइजोको निहुँमा हत्या गरिएकी साहको न्यायको पक्षमा समितिको ऐक्यबद्धता
काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले दाइजोको निहुँमा हत्या गरिएकी आरती साहको न्यायको पक्षमा ऐक्यबद्धता जनाएको छ ।
समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारले पीडितको माग तत्काल पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले प्रमाण पर्याप्त रहेकाले न्यायमा ढिलाइ गर्न नहुनेमा जोड दिँदै पीडितलाई न्यायको अनुभूति गराउनुपर्ने, सम्बन्धित प्रहरीलाई गृह मन्त्रालयले तत्काल निलम्बन गर्नुपर्ने, घटनाको अध्ययन अनुसन्धानमा गैर प्रहरी सहितको समिति गठन गर्नुपर्ने लगायतका विषय बैठकमा उठाउनुभयो ।
त्यसैगरी सांसदहरुले महिलामाथि हुने विभिन्न हिंसाका घटनालाई तत्काल निराकरण गर्न गृह मन्त्रालयले छुट्टै हेल्पलाइन सेवा सञ्चालन गर्नुपर्ने, दाइजो प्रथालाई उन्मुलन गर्ने कानुन बनाउनुपर्ने र जनचेतनाका अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
समितिका सभापति किरणकुमार शाहले आफ्नो छोरीको हत्यापछि परिवारमाथि भएको यातना, कुटपिटको घटनामाथि छानविन गर्न सहज वातावरण बनाउन समितिले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा गृह मन्त्रालय सुरक्षा समन्वयन शाखाका प्रमुख तथा सहसचिव नारायणप्रसाद भट्टराईले आरतीको हत्या भएको दाबी भएको मुद्दा अदालतमा प्रवेश भएको र हत्यामा संलग्न रहेको दाबी गरिएका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साहलाई पुर्पक्षको लागि थुनामा राखिएको समितिलाई जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्