तपाईँ सुन्दै हुनुहुन्छः

आन्दोलनरत शिक्षकसँग गृहमन्त्रीको वार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री  नारायणकाजी श्रेष्ठले देशभरका सामुदायिक विद्यालय बन्द गरेर राजधानीमा आन्दोलन गर्न आएका शिक्षकहरूलाई आन्दोलनमा संयमता अपनाउन आग्रह गर्नुभएको छ । 

आन्दोलनरत शिक्षकहरूसँग आज गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री श्रेष्ठले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षकका जायज  माग पूरा गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । 

मुलुकको विकासका लागि शिक्षाको विकास अनिवार्य भए पनि न्यून बजेटका कारण  शैक्षिक क्षेत्रमा समस्या देखिएको बताउँदै गृहमन्त्री श्रेष्ठले वार्ता  र सहमतिबाटै समस्याको समाधान खोज्न शिक्षकहरूलाई आग्रह गर्नुभयो । 

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गर्नुभयो । 

छलफलका क्रममा शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्नुभयो । 

वार्तामा शिक्षक महासङ्घका पदाधिकारीसहित,  शिक्षक संघ, सङ्गठनका प्रतिनिधिहरू सहभागी  थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button