लुम्बिनी प्रदेश सरकारले मनायो संविधान दिवस
अधिकार प्राप्ति नहुँदा कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरू कार्यान्वयनमा नआउँदा जटिलता आइरहेको बताउनुभयो । उहाँले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको जिकिर गर्नुभयो । यसले गर्दा सङ्घीयता कार्यान्वयनमा समस्या रहेको तर्क मुख्यमन्त्री चौधरीको छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उहाँले बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्याइरहेको दाबी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शीघ्र कार्यान्वयनमा जानु पर्ने बताउनुभयो । ‘म आज पनि भन्छु, सङ्घीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,-‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूर्ण कार्यान्वयनको लागि सङ्घीयता कार्यान्वयन र हुनु पर्ने र त्यो अधिकारमा जोडिएको उहाँको भनाई छ ।
मुख्यमन्त्री चौधरीले संविधानमा सबैको भावना समेटिएको भन्दै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गर्नुभयो । उहाँले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउन केन्द्रसँग आग्रह समेत गर्नुभयो । संविधान कार्यान्वयन गर्न सबै निकायहरू विचमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।तर, प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्