तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्री शर्मासँग चिनियाँ प्रतिनिधि मण्डलको भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रको रुपमा विकास हुँदै गएको पनि बताउनुभयो ।

राज्य स्तर र जनस्तर दुवै क्षेत्रमा नेपाल र चीनबिचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उहाँले बेलाबेलामा हुने उच्च स्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने स्पष्ट गर्नुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबिचको सम्बन्ध थप उचाइमा उठेको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदान प्रदान अझ बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

चीनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उहाँले चिनियाँ कम्पनीहरूले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको बताउनुभयो । सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षा लगायतका सवालमा दुई देशबिच सहायता आदानप्रदान बढाउनुपर्ने उहाँले बताउनुभयो । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधि मण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरूले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्द्धनको काम गरिरहेको बताउनुभयो । अहिले केही पुराना कानुनको संशोधन र नयाँ कानुन निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उहाँले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सबलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताउनुभयो ।

सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानले नेपाल र चीनबिचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबिच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताउनुभयो । आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि पर्यटन प्रवर्द्धनको महत्वपूर्ण सम्भावना रहेको बताउनुभयो ।

जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउन सके विकासमा योगदान पुग्ने उहाँले बताउनुभयो । प्रचार विकासको राम्रो माध्यम भएको औँल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरू इच्छुक रहेको बताउनुभयो । युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वव्यापी रुपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उहाँले बताउनुभयो ।

भेटमा दुवै पक्षका अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button