तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरण

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वि.सं.२०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरण गर्नुभएको छ ।

सिंहको २६ औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति पौडेलले सुर्यबिनायक नगरपालिकास्थित गणेशमान सिंह स्मृति वाटिका परिसरमा निर्मित १२ सय केजीको १२ फिट अग्लो ढलोटबाट निर्मित सिंहको प्रतिमा अनावरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले स्व.सिंह लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष तथा ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर रहेको बताउनुभयो ।

उहाँले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो ।

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने आन्दोलन र क्रान्तिका नेतृत्वकर्ता सिंहमा सिद्धान्तप्रतिको निष्ठा, पदप्रतिको निस्पृहता र लोकतन्त्रप्रतिको समर्पण भाव उच्च रहेको राष्ट्रपति पौडेलको भनाई थियो ।

सिंहले लोकतन्त्र राजनीतिक प्रणाली मात्र नभई जीवन दर्शनको बाटो भएको बताउने गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार तथा पूर्व सांसद स्व. रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभयो । उहाँले स्व. ढुङ्गेलका छोरा अनुप र नाती अक्षेप ढुङ्गेललाई उक्त सम्मान पत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि सम्मान गरियो । उहाँले समितिले प्रकाशन गरेको स्मारिका गणेशमान वाटिकाको विमोचन पनि गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सिंहले गर्नुभएको त्याग तपस्या र बलिदानको गाथा भावी पुस्तासम्म पुर्‍याउने जिम्मेवारी सबै प्रजातन्त्रवादीको भएको बताउनुभयो ।

सिंहका सुपुत्र तथा काँग्रेस नेता प्रकाशमान सिंहले उहाँको जीवन सन्देश नेपाली जनजनमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । २०४६ सालको जनआन्दोलनमा विभिन्न बिचार बोकेका दलहरूलाई समेत उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गरेकाले प्रजातन्त्र प्राप्त भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद दुर्लभ थापा र सुर्यबिनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र कृष्ण मुरारी न्यौपानेले सिंहको योगदानको चर्चा गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि २०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भए पनि अनावरण गर्ने अवसर आज जुरेको हो ।

१९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button