तपाईँ सुन्दै हुनुहुन्छः

सेभन ए साइड फुटबलको उपाधि आयोजकलाई

पोखरा । हरितालिका तिजको अवसरमा पोखरा २९ को प्रस्तावित रंगशाला भण्डार ढिकमा सञ्चालित तिज मेला अन्तरगत राखिएको सेभन ए साइड फुटबलको उपाधि आयोजक भण्डार ढिक टोल विकास संस्थाले जितेको छ ।

गत भदौ २७ गतेदेखि भण्डार ढिक टोल विकास संस्थाको आयोजना तथा पोखरा महानगरपालिका २९ को सहकार्य र विभिन्न सामाजिक संघ संस्थाहरूको सहयोगमा सञ्चालित प्रथम तिज मेला २०८० अन्तरगत सोमबार भएको फाइनल खेलमा गन्नी एप्सी कुस्मालाई एक गोलका विरुद्ध दुई गोल गर्दै भण्डार ढिक टोल विकास संस्था विजयी भएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले एक लाख ११ हजार एक सय ११ र उप विजेता समूहले ५५ हजार पाँच सय ५५ साथमा शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसैगरि वडा स्तरीय खुल्ला तिज गीत प्रतियोगितामा सहभागी नौ समूह मध्येबाट लगनशील महिला समूह प्रथम, शिवेश्वर आमा समूह द्वितीय, माछापुच्छ्रे आमा समूह तृतीय तथा चण्डेश्वरी आमा समूह र वडा स्वयं सेविका समूहले सान्त्वना स्थान हासिल गरेको निर्णायक संयोजक मोती गिरीले जानकारी दिनुभयो ।

विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको तिज मेलामा ठेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र घैँटो फुटाउने प्रतियोगिता पनि भएका थिए ।

विजयी समूहहरूलाई पोखरा महानगरपालिका २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ र मेलाका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष अरुण गुरुङले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button