तपाईँ सुन्दै हुनुहुन्छः

‘नेम्वाङको निधनले देशलाई नै क्षति’

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री युवराज ज्ञवालीले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेकपा एमालेलाई मात्रै नभएर देशलाई नै अपूरणीय क्षति भएको बताउनुभएको छ ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्ला कमिटीले मङ्गलवार बुटवलमा आयोजना गरेको नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषय विचार गोष्ठीमा नेता ज्ञवालीले नेम्वाङको निधनबाट देश शोकमग्न भएको बताउनुभयो ।

एमालेका सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले सुवासले हरेक प्रतिकुलतालाई अनुकूलतामा बदलेर सचेतनापूर्वक चालिएका कदमले संविधान जारी हुन सकेको बताउनुभयो ।

एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खाँले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको र उहाँको अभाव मुलुकलाई खट्किरहने बताउनुभयो ।

राप्रपाका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति, संविधानविद्को निधनले देशलाई क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने जनाउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित व्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलङ्क भएकैले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदानलाई सधैँभरि स्मरणयोग्य रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button