तपाईँ सुन्दै हुनुहुन्छः

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा आज सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ-आफ्नो मन्त्रालयको कामबाट जनता सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति-सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवा प्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिनुभयो ।

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका साथै सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति-सुरक्षा लगायत बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button