उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एकअर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरूमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकाले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गरिरहनुभएकी जेङ यानले आफूहरूको यो भेटघाट उपलब्धिमूलक रहेको बताउनुहुँदै दुई देशको सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्