‘प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ’
वासिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताउनुभएको छ । उहाँले राहदानी, भिसा लगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदले नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताउनुभयो ।
जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा उहाँले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूको ज्ञान सीप र पूँजी मात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।”
विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गर्नुहुँदै मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको राहदानी, भिसा लगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको साङ्गठनिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्