आप्रवासन नीति संशोधन गरिँदै : मन्त्री भण्डारी
पोखरा । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई थप व्यवस्थित पार्न आप्रवासन नीति संशोधन गर्न लागिएको बताउनुभएको छ ।

पोखराको लामाचौरमा सञ्चालन भएको तीन दिने लामाचौर तिज महोत्सवको समापन समारोहमा उहाँले वैदेशिक रोजगारमा धेरै जना ठगिने गरेकाले त्यसलाई व्यवस्थित पार्न आप्रवासन नीति संशोधन गर्न लागिएको बताउनुभयो ।
मुलुकमा बढी भन्दा बढी रोजगार सृजना गर्न चाहेर पनि हालको अवस्थामा कठिन भएको बताउँदै मन्त्री भण्डारीले अहिलेको अवस्थामा वैदेशिक रोजगारी नै नेपालको अर्थतन्त्रको बलियो आधार भएको र त्यसबाट ठगिने गरेको जनगुनासो धेरै आएकोले त्यसलाई नियन्त्रण गर्दै श्रमिकहरूको उचित ज्याला र भविष्य ग्यारेन्टी गर्न खोजिएको जनाउनुभयो ।

यस्ता मेला महोत्सवले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन थप टेवा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा भएको २५ औँ संस्करणको लामाचौर तीज महोत्सवको तेस्रो अर्थात् अन्तिम दिन हरितालिका तिज पर्व भएकोले दर्शकहरूको अत्यधिक भिड भएको समाजका पूर्व अध्यक्ष बुद्धि बहादुर क्षत्री खत्रीले बताउनुभयो ।

आज लोकदोहोरी कलाकारहरू चीज गुरुङ, बबिता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्काले लगायतको प्रस्तुति रहेको थियो ।
महोत्सवको अर्को आकर्षण अन्तर महिला समूहगत खुला तीज गीत प्रतियोगिता हो । जसको फाइनल तीजकै दिन भएको प्रचार संयोजक दिनेश भण्डारीले बताउनुभयो । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहन बापत २ हजार दिइनेछ ।
प्रतिक्रिया राख्नुहोस्