तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाबाट विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले नेपाली २३ लाख रुपैयाँभन्दा बढी विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–१५ स्थित पूर्व–पश्चिम सडकखण्डमा विदेश मुद्रासहित भारतको विहार पुर्वी चम्पारन पलङवा थाना पसौना–९ का ४० वर्षीय रम्भु दासलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार हेटौँडा–१५ स्थित पूर्व–पश्चिम सडकखण्डमा विशेष सूचनाको आधारमा पशुपतिनगर र प्रहरी चौकीको टोलीले रातोमाटेबाट खटिएको चेकिङ टोलीले रातोमाटे चेक प्वाईन्टबाट नेपाली २३ लाख ३८ हजार ५ सय ७१ रुपैयाँ विदेशी मुद्रासहित दासलाई पक्राउ गरेको हो । 

हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको माइक्रोलाई सुरक्षाजाँच गर्ने क्रममा माइक्रोमा सवार दासको साथबाट लुकाई छिपाई ल्याएको अवैध मुद्राहरू बरामद गरेको प्रहरीले जनाएको छ । दासको साथबाट प्रहरीले युरो–८० थान (५० को दरले) ४ हजार, जापानी मुद्रा १ सय ३३ थान (१० हजारका दरले) १३ लाख ३० हजार र साउदी रियल १ सय १६ थान बरामद गरेको हो । 

दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button