सखुवाप्रसौनी गाउँपालिकाद्वारा ६३ करोड २९ लाख ९६ हजारको बजेट सार्वजनिक
वीरगंज । आपसी विवाद र खिचातानीसँगै झण्डै तीन महिना पछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बजेट आइतबार सार्वजनिक गरेको छ ।
गाउँपालिकाको कार्यालयमा आइतबार पालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०८०/०८१ बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । पालिकाको चालू आर्थिक वर्षको अनुमानित कुल बजेट ६३ करोड २९ लाख ९६ हजार २ दुई सय २५ रुपैयाँको बजेट पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष वासुदेव महतो, मोजामिल अंसारी, असेश्वर यादव, लगायत वडा सदस्य तथा कार्यपालिका सदस्य, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँ पालिकाको प्रशासनिक भवन निर्माण सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने तथा संरक्षण गर्ने, पालिकाको मुल सडक कालोपत्रे गर्ने, विद्यार्थी अनुपातमा स्वयंसेवक शिक्षकको अनुदान विद्यालयलाई दिने, पालिकाको जनतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, किसानलाई स्काभेटर निःशुल्क दिने, पालिकाको पचगावामा १५ शय्याको आधारभूत स्वास्थ्य चौकी निर्माण गर्ने , सर्पदंश र कुकुरको टोकाई बाट घाइतेको निःशुल्क उपचार गर्ने, जमुनिया खोलाको टेन्डर गरि आन्तरिक स्रोत बढाउने लगायतका निर्णय गाउँसभाले गरेको छ ।
त्यसैगरी खानेपानी, सिचाई, सडक, स्वास्थ्य सुरक्षामा पालिका प्रमुखले केही उद्देश्य राखी बजेट बिनियोजन गरेको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले बताउनुभएको छ ।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सहित केही कार्यपालिका सदस्यहरु अनुपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्