तपाईँ सुन्दै हुनुहुन्छः

कारागार व्यवस्थापन विभागले निर्णय नदिँदा ६ दिन देखि १५ बालकैदी प्रहरी हिरासतमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्तास्थित बाल सुधार गृहमा गत भदौ २६ गते राति आतङ्क मच्चाउँदै झडपमा उत्रिएका १५ जना बाल कैदी बन्दीलाई ६ दिन देखि प्रहरी हिरासतमा राखिएको छ । 

बाल सुधार गृहमा आतङ्क मच्चाउनेहरूलाई कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा गृह मन्त्रालय कारागार व्यवस्थापन विभागले निर्णय गरी नपठाउँदा उनीहरूलाई हिरासतमै राख्नु परेको पर्सा प्रहरीले जनाएको छ । १५ जना बाल कैदीहरूलाई जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका कक्षको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी कुमारविक्रम थापाले बताउनु भयो । 

सुधार गृहमा बस्ने बाल कैदीहरूलाई हिरासतमा राख्दा समस्या भएको बताउँदै डिएसपी थापाले बाल सुधार गृहको अवस्था सहज बनाउनका लागि हिरासतमा राखिएको बताउनु भयो ।

बाल सुधारगृह वीरगन्जका प्रमुख टीकाकृष्ण काफ्लेले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत कारागार व्यवस्थापन विभागलाई पत्राचार गरी भक्तपुरबाट ल्याइएका १५ बालकैदीलाई अन्यत्र व्यवस्थापन गर्न माग गरेको बताउनु भयो । अहिले झडप हुँदा बाल सुधार गृहमा भत्किएको भवन, ढोका, झ्याल तथा पर्खालको मर्मत सम्भारसँगै बिजुली र पानी व्यवस्थापनको काम द्रुतगतिमा भइरहेको जानकारी दिनुभयो ।

वीरगंज स्थित बाल सुधार गृहमा भदौ ८ गते भक्तपुर बालगृहबाट ल्याइएका र पहिलेदेखि बस्दै आएको समूहबीच झडप भएको थियो ।

भक्तपुरबाट सरुवा भएर आएकै दिनदेखि उनीहरूले आफूलाई अविलम्ब फिर्ता पठाउनुपर्ने माग राखेर विरोध सुरु गरेका थिए । 

उनीहरूले सुधार गृहका दुई जना नाइकेलाई कुटपिट गरेपछि भदौ २६ गते राति दुई समूहबीच झडप भएको थियो । झडपपछि प्रदर्शनमा उत्रिएका बालगृहका कैदीबन्दी र स्थानीय प्रशासनबिच वार्ता भएपछि बालगृहको माहोल शान्त बनेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button