अध्यक्ष तिमिल्सिनासंग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले धेरै नेपाली विद्यार्थीहरूको आकर्षक शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको सङ्ख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्छन् भन्नुभयो ।
विद्यार्थीहरू सँगै विभिन्न पेशा र व्यवसायमा संलग्न ठूलो सङ्ख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बिचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी पनि ब्यक्त गर्नुभयो ।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराउनुभयो ।
राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्