मुस्ताङको स्याउ पोखरा सहितको अन्य बजारमा आउन सुरु

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा उत्पादन भएको स्याउ पोखरा सहितको अन्य बजारमा आउने सुरु भएको छ । मुस्ताङ क्षेत्रमा उत्पादन भएको तल्लो तटीय क्षेत्रको स्याउ बिक्रीको लागि पोखरा सहितको बजारमा जान सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताउनु भयो ।
यसपाली मुस्ताङको स्याउको गुणस्तर कायम गर्दै किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले असोज एक गते पछि मात्र स्याउ टिप्न अनुमति दिइएको असोजको २ गते देखि पोखरा लगायतका क्षेत्रमा स्याउ जान थालेको उहाँले बताउनु भयो ।
जलवायु परिवर्तनको कारण यसपाली फुल फुल्ने समयमा पानी परेको कारण परागसेचन (पोलिनेशन) हुन नपाएको हुँदा गत वर्षको तुलनामा यस बर्ष स्याउ उत्पादनमा करिब ३० प्रतिशत घट्न सक्ने प्रमुख बस्ताकोटीले बताउनु भयो । मुस्ताङको तल्लो पालिका थासाङ र घरपझोङमा यस बर्ष स्याउ उत्पादनमा कमी आउने उहाँले दाबी गर्नु भयो । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङका अन्य गाउँपालिका बाह्रगाउँ मुक्ति क्षेत्र, लोमाङथाङ र लो घेकर दामोदरकुण्डमा सामान्य रुपमा स्याउ उत्पादनमा कमी हुने छ । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङ क्षेत्रमा गत बर्ष करिब ६० करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो ।

हाल मुस्ताङ क्षेत्रमा र होलसेल रुपमा स्याउ प्रति केजी १ सय ८० मा बिक्री भएको छ भने पोखराको बजारमा सामान्यतया २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्री हुने भएको छ । मुस्ताङमा खुद्रा रुपमा खरिद गर्दा भने प्रति केजी २ सय रुपैयाँमा स्याउ बिक्री हुन थालेको स्थानीयहरूले बताउनु भएको छ ।
जिल्ला समन्वय समिति मुस्ताङको समन्वयमा मुस्ताङका ५ वटै पालिकाका प्रमुख सहितको छलफलबाट असोज एक गते भित्र मुस्ताङमा स्याउ टिप्न नपाइने निर्णय गरेसँगै मुस्ताङमा उत्पादन भएको स्याउ असोज पहिलो साताबाट मात्र पोखरा सहितका अन्य बजारमा जान थालेको हो । राम्रोसँग पुष्टिन नपाउँदै मुस्ताङका किसानले उत्पादन गरेको स्याउ बजारमा जाने जसले गर्दा स्याउको गुणस्तरमा ह्रास आएको र किसानले उचित मूल्य नपाएकोले गर्दा उक्त निर्णय गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताउनु भयो ।
मुस्ताङमा उत्पादन हुने स्याउ भदौ देखि नै बजारमा पठाउने हुँदा मुस्ताङको स्याउमा राम्रोसँग रस नपस्ने गरेको जसले गर्दा गुणस्तरमा ह्रास आएकोले यसको गुणस्तर कायम गर्न पनि सो निर्णय प्रायः सबैले मान्य गरेको प्रमुख गुरुङले उल्लेख गर्नु भयो ।
यसवर्ष मुस्ताङ जिल्लामा उत्पादन हुने स्याउको गुणस्तरलाई कायम गर्न भदौ अघि स्याउ टिप्न जिल्लाका ५ वटै स्थानीय तहका किसानलाई अनुरोध गरिएको उहाँले बताउनु भयो । समितिले गत साउन १९ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
मुस्ताङमा गोल्डेन डेलिसियस, रेडडेलिसियस, रिचारेड डेलिसियस, रोयल डेलिसियस लगायतका जातको स्याउ खेती हुँदै आएको छ भने २ हजार ५ सय भन्दा माथिको उचाइमा उत्पादन भएको मुस्ताङको स्याउ अन्य भन्दा केही गुणस्तरको हुने गरेको स्थानीयले बताउनु हुन्छ ।
मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर असोजको दोस्रो साताबाट मात्र हुने हुँदा समितिले गरेको उक्त निर्णय उपयुक्त भएको स्थानीय एक किसान शान्तिमाया तामाङले बताउनु भयो । यस पाली आफूले डेढ लाखको स्याउ बिक्री गर्ने लक्ष्य राखेको बताउँदै उहाँले असोजको १५ गते पछि मात्र स्याउ टिप्ने योजना भएको सुनाउनु भयो ।
गत बर्ष मुस्ताङमा ६ हजार ५ सय ९७ मेटिक्टन स्याउ उत्पादन भएको प्रमुख बस्ताकोटीले बताउनु भयो । मुस्ताङका स्याउ बगैँचामा राम्ररी नपाक्दै बजार पु¥याउने अवस्थाले गर्दा गुणस्तर र राम्रोसँग त्यसले आकार ग्रहण नगरेको, राम्रोसँग रस नपसेको समस्या हुने गरेको थियो । मुस्ताङका ५ स्थानीय तहमा करिब १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको बताइन्छ ।
प्रतिक्रिया राख्नुहोस्