तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोडको प्लाइउड भारत निर्यात

नेपालगन्ज । नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपैयाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामै १ करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।

सरकारले निर्यातलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम राखेपछि नेपालगन्ज नाका हुँदै प्लाइउडको निर्यात बढेको छ । गत आर्थिक वर्षको साउन महिनामा ५३ लाख रुपैयाँको प्लाइउड भारत निर्यात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा त्यसको करिब तीन गुणा बढी निर्यात भएको छ ।

शिखर प्लाइउड उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सरकारले प्रोत्साहन गरेपछि प्लाइउड उद्योगको निर्यात बढेको बताउनुभयो । यसले उद्योगी व्यवसायीलाई निर्यात व्यापारका लागि निकै उत्साहित बनाएको बोथराको भनाई छ ।

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेको बोथराको शिखर प्लाई उद्योगले भारतका विभिन्न सहरमा नेपाली प्लाइउड बिक्री गरिरहेको छ । बाँकेका अन्य उद्योगले पनि भारतको लखिमपुर र लखनउमा प्लाइउड बेचिरहेका छन् । वन डिभिजन कार्यालयबाट स्वीकृति पाएपछि ट्रान्जिट परमिट लिएर प्लाइउड भारत निर्यात हुँदै आएको छ ।

विगतमा नेपाली प्लाई उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थका लागि भारतमा निर्भर रहनुपर्ने अवस्था रहेकोमा पछिल्लो समयमा नेपालमै कच्चा पदार्थको उत्पादन हुन थालेकाले सहज भएको छ । नेपाली कच्चा पदार्थबाट उत्पादन भएको प्लाई भारतमा निकै मन पराउन थालिएकाले निर्यात बढ्दै जान थालेको उद्योगीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button