तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा आज बुढी पोल्ने पर्व मनाइँदै

कञ्चनपुर। हरेक वर्ष असोज सङ्क्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धूमधामसँग मनाइँदै छ । द्वापर युगमा राक्षसनी पूतनाले राजा कंसको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लागेको बेला भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसनी पूतनाको स्तन चुसी मारेको खुसीयालीमा सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष असोज सङ्क्रान्तिका दिन बुढी पोल्ने पर्व मनाउने प्रचलन रहेको कञ्चनपुरको बेलौरी निवासी प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताउनु भयो ।

गाईबस्तुको हेरचाह गर्ने गोठालाहरूले भाद्र सङ्क्रान्तिका दिन सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगाहरू काटेर दोबाटोमा स्थापना गरेको बुढीलाई असोज सङ्क्रान्तिका दिन जलाउने चलन रहेको छ । जासुसी राक्षसनी पूतना दहनका लागि असोज सङ्क्रान्तिका दिन साँझपख सबै घरबाट काँस, अम्रिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पूतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पूतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने जनविश्वास रहँदै आएको छ ।

यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिन्छ । बूढी पोल्ने पर्वको अवसरमा एकताका रातभर सुदूरपश्चिमेलीहरूको लोक संस्कृति देउडा खेल्ने चलन थियो । तर आजकल त्यो चलन हराउँदै जान थालेको छ । मौलिकताले भरिएको सुदूरपश्चिमेली संस्कृतिलाई नयाँ पुस्ताले पनि अङ्गाल्दै संरक्षणका लागि अगाडी बढ्नु पर्ने संस्कृति संरक्षणकर्मीहरूको भनाइ छ । मौलिक पर्वहरूलाई पैतृक सम्पत्ति सम्झेर संरक्षणमा जुट्नु पर्नेमा उहाँहरूको जोड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button