तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी  उत्पादनलाई प्रवर्द्धन गर्न एक महिने ‘पर्व विशेष मेला’ 

चितवन । चितवन उद्योग सङ्घको आयोजना र  नेपाली जुत्ता घरसँगको सहकार्यमा चाडपर्व लक्षित एक महिने  ‘पर्व विशेष मेला २०८०’ हुने  भएको छ । स्वदेशी उत्पादन र व्यवसायलाई  प्रबद्र्धन गर्ने उद्देश्यले  असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला आयोजना गर्न लागिएको हो । आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरी यसबारे  जानकारी दिएको हो । चितवन प्रदर्शनी केन्द्रमा हुने मेलामा जुत्ताचप्पल, खाद्यान्न, लत्ताकपडा, खसीबोका लगायतका उत्पादन  प्रदर्शन गरिने  छ ।

यसअघि भएको जुत्ताचप्पल प्रदर्शनी उपलब्धिमूलक भएकोले  यस बर्ष पर्व विशेष मेला आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो  । ‘मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन  आर्थिक गतिविधिलाई चलायमान बनाउँछ भन्ने विश्वास गरेका छौँ । अध्यक्ष कँडेलले भन्नुभयो , राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशमै गरी खान्छु भनी लागेका उद्यमीहरूलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरेका हौँ ।’ उहाँले भन्नुभयो । 

मेलामा जुत्ता चप्पलका मात्रै १३ वटा उद्योगको स्टल रहने उनले जानकारी दिनुभयो  । दशैँ अगाडि मेलाको अन्तिम साता मात्र खसीबोका लगायत खाद्यान्न प्रदर्शन हुने उहाँले बताउनु भयो । मेलामा स्वदेशी उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्न स्टल बुकिङ खुल्ला गरिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो  ।

बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जिल्ला भित्र र बाहिरका हजारौँ अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने भएकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग हुने उहाँको भनाई छ  ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य एवम् नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका अध्यक्ष नानीराज घिमिरेले नेपालमा फुटवेयरको प्रचुर सम्भावना रहेको बताउनु भयो  । वार्षिक १६ करोड रुपैयाँको जुत्ताचप्पल उत्पादन गर्ने क्षमता भएका नेपाली उद्योगले १० करोड रुपैयाँको मात्रै उत्पादन गर्नुपरेको उहाँले  बताउनु भयो  । पर्व विशेष मेलाबाट आर्थिक गतिविधि थप चलायमान हुन गई पलायन हुन लागेका उद्योगी व्यवसायीलाई उद्यमशीलतालाई निरन्तरता दिन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो  । एक महिना चल्ने उक्त मेलामा २ लाख स्वदेशी विदेशीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

मेलामा गुणस्तरीय उत्पादन र सहुलियत दरमा बिक्री वितरण गर्नुका साथै केही अत्यावश्यक खाद्यवस्तुको मूल्यमा एकरूपता गरिने आयोजकको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button