कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ ।
आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुख सहभागी हुनुहुन्थ्यो । छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुभयो ।

त्यस अवसरमा खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खलबलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । साथै बजारमा दैनिक उपभोग्य सामान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी र कृत्रिम अभाव रोक्न नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो ।
नेपालीहरूका महत्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाई समेत थप प्रभावकारी बनाउँदै कहीँ कतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न समेत कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा सामाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलमा राजनीतिक र आपराधिक घटना समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्नेमा पनि सचेत गराउनुभयो ।
छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराउनुभएको थियो ।
आजै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्