तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा तीन वर्षयता २ सय ३० ले गुमाए सडक दुर्घटनामा ज्यान

बाँके । बाँकेमा पछिल्लो ३ वर्ष र चालु आर्थिक वर्षको दुई महिनामा सडक दुर्घटनामा परेर २ सय ३० ले ज्यान गुमाएका छन् । सडक दुर्घटनाको मुख्य कारण तीव्र गति नै रहेको पाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार पछिल्लो ३ वर्ष २ महिनामा भएका ४ सय ४४ वटा सवारी दुर्घटनाका घटनामा परेर २ सय ३० जनाले ज्यान गुमाउँदा ५ सय २० जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।

उहाँले सवारी दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायाको झुण्ड हुनु, सवारी साधनको अवस्थाका कारण सवारी दुर्घटना हुने गरेको पाइएको बताउनुभयो ।

उहाँले सो अवधिमा करिब ४५ वटा चौपाया सडक दुर्घटनामा मारिएको समेत बताउनु भयो ।

उहाँले पछिल्लो ३ वर्ष ३ महिनामा ट्राफिक नियम उलङ्घन गरेको अभियोगमा १ लाख ३१ हजार ८ सय ८९ जना कारबाहीमा परेको बताउनुभयो । यी बाट ७ करोड ५८ लाख ३१ हजार राजस्व समेत असुलेको बताउँदै सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक सचेतनाका विभिन्न गतिविधि सञ्चालन गर्नुको साथै मापसे चेकजाँचलाई तीव्र पारिएको जानकारी दिनुभएको छ ।

उहाँले जिल्लामा सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न निकायसँग सहकार्य गरी अघि बढ्नुको साथै ट्राफिक सचेतना कार्यलाई विद्यालय स्तरसम्म पुराउने योजना रहेको बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button