हरितालिका तीज महिला अधिकार प्राप्तिको उत्सव
काठमाडौँ I विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महिला दिदीबहिनीहरूले हरितालिका तीज मनाइरहेका छन् ।
दिदीबहिनी जम्मा हुने,दर खाने र नाचगान गरेर मनाउने तीज पर्व सांस्कृतिक पर्वका रूपमा मनाइने भए पनि यसका जानकारहरू चाहिँ यो सामाजिक रूपमा महिलाहरूले विजय हासिल गरेको पर्वका रूपमा रहेको बताउँछन् ।
प्राचीनकादेखि मौलिक पर्वका रूपमा मनाइँदै आएको हरितालिका तीज पर्व मनाउने शैली फेरिएको छ । महिलाहरूले समानता र स्वतन्त्रताको हक दाबी गर्दै उपलब्धि हासिल गरेको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको व्याख्यालाई समय सन्दर्भ अनुसार परिभाषित गर्दै लगिँदा तीज पर्व मनाउने शैली, परम्परा र गरिने क्रियाकलापमा समेत फरक पर्दै आएको पाइन्छ ।
मूलतः प्राचिनकालमा हिमालय पर्वतकी छोरी पार्वतीले जीवन साथीका रूपमा महादेवलाई मन पराउनुहुने र बाआमाले भगवान् विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीलाई साथीहरूले लुकाइदिएको प्रसङ्ग धार्मिक ग्रन्थहरूमा पाइन्छ । महादेवलाई जीवनसाथीका रूपमा पाउन पार्वतीले खानपान छोडिन् जसलाई व्रतका रूपमा व्याख्या गरियो । पछि पार्वती र विष्णुका अभिभावकसँग भेटेर नारदमुनिले पार्वतीको विवाह महादेवसँग नै हुने चाँजोपाँजो मिलाइदिएपछि पार्वतीले आफूले रोजेको जीवनसाथी छान्न सफल भएको खुसीयालीमा तीज मनाउन थालिएको बताउनुहुन्छ सांस्कृतिक अभियान्ता धनश्याम कोइराला ।
नारीले पहिलोचोटी आफूले रोजेको जीवनसाथी छान्न पाउने अधिकार पाएको अवसरमा नयाँ लुगा लगाउने, मीठो-मसिनो खाने र सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भई नाचेर, गाएर तीज मनाउन चलन भए पनि समय फेरिएसँगै तीज मनाउने शैली पनि विभिन्न कालखण्डमा फरक हुँदै आएको पाइन्छ । सांस्कृतिक अभियान्ता कोइराला अबका तीजचाहिँ हालसम्म पाएको समानता र स्वतन्त्रताको अधिकार उपयोग गर्दै अझै अधिकार दाबी गर्ने उत्सवका रूपमा मनाउनुपर्ने बताउनुहुन्छ ।
अहिले पनि नेपाली समाजमा आफूले रोजेको जीवन साथी चुन्ने अधिकार अधिकांश महिलाहरूमा नरहेको बताउँदै सांस्कृतिक अभियान्ता कोइराला तीजका विकृत पाटोहरु आफैले अवगत गरेर सामाजिक लडाइँको उपलब्धि पाएको दिनको स्मरणका रूपमा मनाउनुपर्ने बताउनुहुन्छ ।
पछिल्लो समय तीजमा महिलाहरूले महंगा लुगा र गरगहना लगाएर महिनाभरि दर खाने पनि गर्न थालेको देखिन्छ । तीजकै अवसरमा उनीहरूले अस्वाभाविक रूपले नाच्ने गाउने पनि गरिरहेको पाइन्छ । कतिपयले हरितालिका तीजका दिन श्रीमानको आयु लामो होस् भनेर निराहार व्रत बस्छन् र गोडा धोएर पानी पनि खान्छन् । एक व्यक्तिले अर्को व्यक्तिको आयु बढाइदिन व्रत बस्नुपर्ने र गोडा धोएर पानी खानुपर्छ भन्ने तर्क वैज्ञानिक होइन । लामो समयदेखि महिला अधिकारका लागि सङ्घर्षरत रहँदै आउनुभएकी नेतृ एवं पूर्व मन्त्री शान्ता मानवीचाहिँ पहिलाको तीज स्मरण गर्दै वर्तमानमा त्यस्तै गर्नपर्छ भन्ने नलागेको बताउनुहुन्छ ।
तीज सामाजिक पर्वका रूपमा सुरु भएको ऐतिहासिक सन्दर्भले बताइरहे पनि समय क्रममा सांस्कृतिक पक्ष पनि मिसिँदै आएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । तीज वास्तवमा महिला अधिकारसँग सम्बन्धित पर्व हो । यसमा धर्म संस्कृति जोडिनु स्वाभाविक पनि हो । मानिसले समाज बनाए, समाजले संस्कृति बनायो । समाजमा संस्कृति थिएन भने मानव जीवन रसपूर्ण हुने थिएन । अझ तीजजस्ता विविधतापूर्ण पर्वहरूले मानिसहरूबिचको आत्मीयता अझै बढाउँछ । त्यस्तै हरितालिका तीज पर्व पनि हालसम्म प्राप्त महिला समानता र स्वतन्त्रताका अधिकार उपयोग गर्दै थप उपलब्धिका लागि एक भएर लड्ने प्रतिविद्धताको पर्व बन्नुपर्दछ ।
प्रतिक्रिया राख्नुहोस्